वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व द्वितीया - २
हुलाकको इतिहास, स्वरुप र प्रकृतिः
परापुर्वकाल देखि नै एक ठाउँबाट अर्को ठाउँमा खबर आदान-प्रदान गर्न चिठ्ठीपत्रको प्रयोग भएको पाइन्छ। खासगरी राजा महाराजाहरुको दरवारमा समाचार तथा सूचना आदान-प्रदान गर्न परेवा, बाज, घोडा जस्ता पशु पंक्षिहरुको प्रयोग भएको किंवदन्ती पाईन्छ । संस्थागत रूपमा हुलाकको स्थापना सँगै चिठ्ठीपत्र पुर्याउने कार्य प्रणालीगत रूपमा हुलाकबाटै हुँदै आएको देखिन्छ। विश्वमा सन् १६६० मा बेलायतका तत्कालीन राजा चार्लस् द्वितीयले General Post Office स्थापना गरेको इतिहाँस भेटिन्छ । नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भई नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको हो। सञ्चार माध्यमहरुमध्ये यस्तो पुरानो ईतिहास बोकेको हुलाक सेवालाई नेपालमा थप व्यवस्थित, प्रभावकारी र जनमूखी बनाउन विक्रम सम्बत् २०१९ मा हुलाक सेवा ऐन आएपछि हुलाक सेवा विभागले हुलाक सेवाको समूचित व्यवस्थापन गर्दै आएको छ। स्थापनाकालमा चिठीपत्र ओसार-प्रसार गर्ने कार्यमा मात्र केन्द्रीत रहेको नेपालको हुलाक सेवाले आजभोली जनताको माग र सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै पुलिन्दा सेवा, फिलाटेलिक तथा हुलाक टिकट सेवा, ई.एम.एस. सेवा. उपत्यका घुम्ती सेवा, ट्रयाकिङ् सेवा लगायतका आधुनिक तथा छिटो छरितो सेवाहरु सञ्चालन गरिरहेको छ । हाल नेपालमा हुलाक सेवा सञ्चालन र व्यवस्थापनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग, हुलाक सेवा विभाग अन्तर्गत रहने गरी केन्द्रीय कार्यालयहरु - गोश्वारा हुलाक कार्यालय र हुलाक प्रशिक्षण केन्द्रका साथै हुलाक सेवा विभाग अन्तर्गत ६ वटा हुलाक निर्देशनालयहरू (मोरङ, धनुषा, कास्की, दाङ, सुर्खेत र कैलाली),७० वटा जिल्ला हुलाक कार्यालयहरु, ६७६ स्थानीय तहमा अवस्थित हुलाक कार्यालयहरु र ३०७४ वटा अतिरिक्त हुलाक कार्यालयहरु (खारेजीका क्रममा रहेका) सञ्चालनमा रहेका छन्।
नयाँ जिल्ला हुलाक कार्यालय स्थापना भएपश्चात कार्यालयले चिठीपत्र एवं पार्सलहरु ओसारपसार, टिकट विक्री वितरण, आन्तरिक ट्रयाकिङ्ग प्रणाली (PITS) सञ्चालन कार्यहरु सम्पादन गर्दै आईरहेकोमा यस सम्बन्धी सेवा तथा कार्यहरुमा विस्तार हुँदै जिल्लामा सञ्चालित इजाजतपत्र प्राप्त एफ.एम. तथा केवल नेटवर्क, पत्रपत्रिकाहरुको नवीकरण गर्ने तथा रोयल्टी संकलन सम्बन्धी कार्य, काउन्टर अटोमेशन सेवा, लगायतका कार्यहरु सम्पादन गर्ने जिम्मेवारी पाएको छ । यसका अतिरिक्त राष्ट्रिय सूचना आयोग र विज्ञापन बोर्डले प्रत्यायोजित जिम्मेवारी अनुरुप यस हुलाक कार्यालयले आफ्नो जिल्लाभित्रका सबै सार्वजनिक निकाय तथा कार्यालयहरुले नियमानुसार सूचनाको हक सम्बन्धी व्यवस्थाहरुको कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरी प्रतिवेदन गर्ने कार्य र छापामाध्यम एवं विद्युतीय संचार माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी सिफारिस, अनुगमन, नियमन तथा सोको भुक्तानी गर्ने कार्य समेत गर्ने गर्दछ ।